Rule 13
विद्युत प्रसारणको अनुमतिपत्रको लागि दरखास्त दिने
विद्युतको प्रसारण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–७ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत प्रसारण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–
(क) परियोजनाको विस्तृत विवरण (जसमा प्रसारण गरिने विद्युतको स्रोत, परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित समय र लागत, परियोजनाको सहभागीहरुको नाम र तिनीहको संलग्नताको किसिम, परियोजनामा अन्तिम स्वामित्व रहने व्यक्ति वा सङ्गठित संस्था तथा त्यस्तो संस्थाका संचालकहरुको नाम, थर र वतन समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),
(ख) प्रसारण लाइन र प्रसारणको लागि आवश्यक पर्ने सव–स्टेशनहरु समेत भएको रुट–नक्शा, आवश्यक पर्ने राईट–अफ–वे र सिङ्गल लाइन डायग्राम,
(ग) प्रसारण भोल्टेजको स्तर, प्रसारण क्षमता, निर्माणको गुणस्तर, तारको साईज र आपसका दूरी, लट्ठा तथा इन्सूलेटरको किसिम र निर्माण सम्बन्धी विस्तृत नक्शा,
(घ) सम्भाव्यताको विश्लेषण (परियोजनाको प्राविधिक विवरण तथा आर्थिक विश्लेषण, एकमुष्ट प्रसारण गरी आपूर्ति गर्ने भएमा ग्राहक तथा उपभोक्ताहरुको विवरण, बिक्री हुन सक्ने विद्युतको अनुमानित परिमाण एवं विद्युत आपूर्तिमा प्रयोग गरिने अन्य व्यक्ति वा सङ्गठित संस्थाहरुको स्वामित्वमा रहेको प्रसारण तथा वितरण प्रणाली भए सो को विवरण),
(ङ) वित्तिय व्यवस्था (परियोजनाको अनुमानित वित्तिय व्यवस्था परियोजनाका लगानीकर्ताहरुको आर्थिक हैसियत, परियोजनामा प्रत्यक्ष रुपले सहभागी हुने वित्तिय संस्थाहरुको प्रतिवद्धता र लगानीकर्ताहरुको दायित्व तथा शेयर–पुँजी र ऋणको प्रतिशत),
(च) घरजग्गाको उपयोग वा प्राप्ति (परियोजनाको लागि स्थायी वा अस्थायी तवरबाट उपयोग वा प्राप्तिको लागि चाहिने आवश्यक सरकारी वा गैर सरकारी जग्गाको कूल क्षेत्रफल र जग्गा धनीहरुको लगत),
(छ) वातावरणीय प्रभाव विश्लेषण (परियोजनाले वातावरणमा पार्ने उल्लेखनीय प्रतिकूल असरलाई न्यूनतम गर्न अपनाइने उपायहरु, परियोजनाले त्यस क्षेत्रमा पार्न सक्ने सामाजिक तथा आर्थिक प्रभावको अतिरिक्त विद्यमान स्थानीय श्रम तथा स्रोत र साधनको उपयोग, परियोजना पूरा भएपछि त्यस क्षेत्रका व्यक्तिहरुले पाउने लाभ, निर्माण तथा संचालन सम्भार सम्बन्धमा स्थानीय जनतालाई दिइने तालिम, निर्माण शिविरको लागि आवश्यक पर्ने सुविधाहरु, सुरक्षात्मक व्यवस्थाहरु तथा परियोजना संचालनबाट सम्बन्धित जग्गा
धनीहरुलाई पर्न सक्ने असर, विस्थापित हुने जनसंख्याको लगत र तिनीहरुको पुनर्वासको लागि अपनाइने आवश्यक व्यवस्था समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),
(ज) विद्युत शक्ति खरिद बिक्री सम्बन्धी विवरण (परियोजनाबाट प्रसारण हुने विद्युत शक्ति खरिद बिक्री सम्बन्धी सम्झौता वा आशय पत्र तथा तत्सम्बन्धी अन्य कुनै कागजपत्र भए सो समेत संलग्न गर्नु पर्छ),
(झ) प्रसारण लाइनको डेढ किलोमिटर क्षेत्रभित्रका विद्युत सम्बन्धी अन्य संरचनाहरु देखिने नक्शा,
(ञ) अन्य आवश्यक कुराहरु ।